ऐतिहासिक रुपरेखा यद्यपि जिल्लाको ऐतीहासिक रुपरेखा र नामांकन सम्बन्धमा कुनै आधिकारिक एवं भरपर्दो अभिलेख प्राप्त भएको छैन तापनि हाल सम्म प्राप्त विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरुको कथन समेतको आधारमा स्याड्जा जिल्लालाई प्राग: ऐतिहासिक कालमा भृगु ऋषिको तपस्या स्थल ( हालको चण्डीभञ्ज्याङ्ग गाविसको भृगुतुम), श्रवण कुमार र अन्धाअन्धीको किंवदन्तीसंग जोडिएको आँधिखोलाको उदगमस्थल अन्धाअन्धि दह र स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलक स्वरुप लिन सकिन्छ । प्राचिन कालमा हालको स्याङ्जा जिल्लाको भूबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मीक नदी कालीगण्डकी किनारका सेतीवेणी, रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट, छाँया क्षेत्र हुदैं उत्तर पंचासे धाम ( बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यि स्याङ्जा जिल्लाले, नेपाल एकिकरण पूर्व २४ से राज्य अन्तर्गत ६ टुक्रे रजौटाहरु गहौं, भिरकोट, सतौं, नुवाकोट, ढोर र पैंयुले आफ्नो ऐतिसासिक पहिचानबोकेको छ । ढोर र पैंयुको धेरै जसो भाग क्रमश: तनहुँ र परवतमा विलय भएपछि बाँकी ४ रजौटाहरुले नै आधुनीक स्याङ्जा जिल्लाको पहिचान बोकेको छ । बर्तमान परिचय नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अंचल अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम समुन्द्री सतहबाट ८५० मीटर उचाईमा रहेको स्याङ्जा बजार हो । यो जिल्ला समुन्द्र सतहबाट न्यूनतम ३६६ मीटर ( केलादी ) देखि अधिकतम २५१२ मीटर ( पंचासेको लेक) सम्म उचाइमा रहेको छ । यस जिल्लाको पूर्वमा तनहुंले, पश्चिममा गुल्मीले, उत्तरमा पर्वत र कास्कीले र दक्षिणंमा कालीगन्डकी नदीसंग पाल्पाजिल्लाले सिमाना छुट्याएको छ । स्याङ्जा जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्वार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरि विभाजन गरेको छ । मुग्लीङ नारायणगढ सडक निर्माण नहुदै सुनौली – पाल्पा – स्याङ्जा – पोखरा – काठमाण्डौ सम्म पुग्ने नेपालको मुख्य राजमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मि. पक्की सिद्वार्थ राजमार्ग भित्र यातायात संचालन हुदै आएको छ । त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्ला भित्र पर्दछ । हाल स्याङ्जा नेपालको सबै भन्दा ठुलो जल विधुत परियोजना- कालीगण्डकी ए ( १४४ मेगावाट), सवै भन्दा ठुलो पहाडी सिंचाई योजना – चापाकोट टार सिंचाई योजना ( १००० हेक्टर ), नेपालको पहिलो नमुना ग्रामीण पर्यटन गाउँ पञ्चमूलको सिरुवारी, नेपाल कै नमुना मानिने पाल्पा र स्याङ्जाको सिमानासंग जोड्ने कालिगण्डकी नदी माथि रहेको राम्दीको पूल र दुध, सुन्तला, अदुवा र कफी उतपादन गर्ने जिल्लाको स्वरुपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ । हाल यस जिल्लामा २ नगरपालिका र ६० वटा गा.वि.स. हरु रहेकोमा १५ वटा इलाकाहरु र ३ वटा संसदीय निर्वाचनहरुमा विभाजन गरिएको छ । राष्ट्रिय जनगणना २०५८ अनुसार स्याङ्जामा ३,१७,३२० जना मानिसहरु अक्सर बसोबास गरेका छन् । यो जिल्लाले नेपालको क्षेत्रफलको ०.७९ प्रतिशत र जनसंख्याको १.३७ प्रतिसत अंश ओगटेको छ । ७५ जिल्ला मध्ये स्याङ्जा क्षेत्रफलमा ६४ औ र जनसंख्यामा २७ औ स्थानमा रहेको छ । मानव विकास प्रतिवेदन २००४ अनुसार स्याङ्जा जिल्लाको औसत आयु ६७.७१ वर्ष, प्रौढ साक्षरता ५७.५ प्रतिशत र वार्षिक प्रति ब्यक्ति आय २४५ ( डलरमा ) रहेकोछ । साक्षरताको दृष्टिकोणले स्याड्जा ७ औ (६६.७ प्रतिशत) स्थानमा र विकास सूचकांकमा ९ औ स्थानमा रहेको छ । स्याङ्जा जिल्लामा हाल ३५.१ प्रतिशत घरपरिवार गरीबीको रेखामुनी रहेका छन् । जिल्ला नामाकण यस जिल्लाको नाम स्याङ्जा रहनुमा विभिन्न कथनहरु पाइएका छन् । तिनहरुमा निम्न कथनहरु प्रमुख छन् । १. अठारौ शताब्दी तिर आंधीखोला उर्लदै बढेर आए पछि ठेलीएछ । यसरी ठेलीएको देखेपछि मानिसहरुमा हाहाकार मच्चिन थाल्यो । एक जना सज्जन बृद्वले भगवानलाई पुकार्दै खोलो “स्यांइय जा” भन्ने कामना गरेछन् । बृद्वको कामना सँगै ठेलिएको खोलो स्यांइय खुलेर गए पछि “ स्याँइय जा” को अपभ्रंस भएर स्याङ्जा हुन गएको हो भनाई रहेको छ । २. एकीकरण पूर्ब सेन बंशिय चौबीसे राज्य अन्तर्गत सतौ, गहौ, नुवाकोट र भीरकोट राज्यमा बिभक्त भै “ सेन जा “ भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको हो भन्ने भनाई पाइन्छ । ३. यस जिल्लामा सिंजाली मगरहरुको ठूलो बस्ती भएकोले उनीहरकै थरबाट अपभ्रंस भएर यस जिल्लाको नाम स्याङ्जा हुन गएको हो भन्ने भनाई पनि छ । यी कथनहरुको आधारमा हाल जिल्ला सदरमुकाम रहेको स्थानको नाम स्याङ्जा रहन गएको र तत्कालिन अवस्थामा यो ठाउँ जिल्लाको प्रमुख ब्यापारिक केन्द्र हुनुको साथै पर्वत, बाग्लुङ, म्याग्दी मुस्ताङ र तनहुँ जिल्लाको प्रमुख ब्यापारीक नाकाको रुपमा पनी परिचित नाम भएकोले नै जिल्लाको नाम पनि स्याङ्जा नामाकरण गरिएको अनुमान गर्न सकिन्छ ।